यार्सा संकलनका लागि मुगुका बासिन्दा पाटनतिर

विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती

मुगु | जेठ ४, २०८२

यार्सा संकलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ ।


यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा सङ्कलनका लागि आउने गर्दछन् ।


जिल्लावासीका लागि प्रतिव्यक्ति रु २ हजार र बाहिरी जिल्लाबाट आउने सङ्कलनकर्ताका लागि रु दुई हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा सङ्कलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न सङ्कलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ ।


यार्सा सङ्कलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।


गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका सङ्कलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् ।


विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती


मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गर्न वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा सङ्कलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन् ।


सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा सङ्कलक रातारात पाटन प्रवेश गरी यार्सा सङ्कलनमा लागेका छन् ।


अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लङ्घन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा सङ्कलनमार्फत गाउँपालिकाले रु ७१ लाख राजस्व सङ्कलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी रु ८० लाखसम्म राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।


यार्सा सङ्कलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्